बारा, साउन ४ । बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नं. ४ खुटवामा डिभिजन वन कार्यालय बाराको सहयोग तथा चुरे तथा वनजंगल संरक्षण अभियान नेपालको समन्वयमा नयाँ कदम नेपाल संस्थाले सोमबार वृक्षारोपण तथा आयआर्जन प्रवर्द्धन अभियानअन्तर्गत स्थानीय बासिन्दालाई ५०० भन्दा बढी बिरुवा निःशुल्क वितरण गरेको छ।
वितरण गरिएका बिरुवामा तेजपत्ता, कल्की, बडहर, निम, अमलालगायत विभिन्न प्रजातिका बिरुवा रहेका थिए। वातावरण संरक्षणका साथै स्थानीयको आयआर्जन बढाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको संस्थाले जनाएको छ।
कार्यक्रमको अध्यक्षता नयाँ कदम नेपालका अध्यक्ष रञ्जित पाण्डेले गर्नुभएको थियो। कार्यक्रममा संस्थाका पदाधिकारी, समाजसेवी तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै संस्थाकी सचिव अनुराधा अधिकारीले तेजपत्ताको खेती स्थानीयका लागि आयआर्जनको प्रभावकारी माध्यम बन्न सक्ने बताउनुभयो। उहाँले घरायसी मसलाको आवश्यकता स्थानीय उत्पादनबाट नै पूरा गर्न, बाह्य बजारमा निर्भरता घटाउन तथा उत्पादनको उचित बजारीकरणमार्फत स्थानीयको आर्थिक अवस्था सुदृढ बनाउन तेजपत्ता खेतीले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमको समापन गर्दै अध्यक्ष रञ्जित पाण्डेले वातावरण संरक्षण र समुदायको आर्थिक सशक्तीकरणलाई सँगसँगै अघि बढाउने उद्देश्यले नयाँ कदम नेपालले आगामी दिनमा पनि यस्ता जनहितका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले वृक्षारोपणलाई अभियानकै रूपमा अघि बढाउँदै हरियालीसँगै समृद्ध समुदाय निर्माणमा सबैको सहकार्य आवश्यक रहेको पनि बताउनुभयो।